
बुधवार , पौष १४, २०७८
रुपन्देही, १४ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले जनताको साथ बिना पार्टीको कुनै भविष्य नरहने बताएका छन् । पार्टीलाई सबल र चलायमान बनाउन नेता कार्यकर्ताहरु जनताको बीचमा पुग्नुपर्नेमा जोड दिदै उनले जनताको बलबाट नै पार्टीलाई परेको अप्ठ्यारो स्थितिलाई छिचोल्न सकिने बताए । उनले भने, ‘एउटा बेलामा हामी दलविहिन बन्यौ, चुनाव चिन्हविहिन भयौ, तर आज कार्यकर्ता र जनताको साथबाट नै देशकै ठूलो र शक्तिशाली पार्टीको रुपमा स्थापित भएका छौ ।
सबैको त्याग र संघर्षबाट पार्टी निर्माण भएको उल्लेख गर्दै नेता विश्वकर्माले अग्रज पुस्ताका योगदान र अनुभवलाई समेत ध्यान दिएर पार्टी कामलाई निरन्तरता दिनुपर्ने बताए । मिडियामा आएका विषयलाई लिएर धारणा बनाउने भन्दा पनि पार्टीको दस्तावेजहरुको अध्ययन गरी सही र यथार्थ विश्लेषण गर्दै पार्टी काममा लाग्न विश्वकर्माले जोड दिए ।
नेकपा एमाले देवदहको पूर्ण विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले जिम्मेवारीवोध गरी तोकिएको कामको क्षेत्रमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । अबका कामहरु निर्वाचन लक्षित हुनुपर्ने बताउँदै रुपन्देही क्षेत्र नम्बर १, बाट निर्वाचित संघीय सांसद विश्वकर्माले पार्टी सरकारमा रहँदा भएका विकासका कामहरुको प्रचार गर्नुपर्नेमा जोड दिए ।
बैठकमा बोल्दै पार्टीका पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले कार्यकर्ताले अनुशासन र विधि पद्दतिलाई मान्नुपर्ने बताए । उनले भने, ‘एमालेका कार्यकर्ता पार्टीको मर्यादालाई कायम गरी जनताको बीचमा पुग्नुपर्छ । पार्टीलाई सिध्याउन देशीविदेशी शक्ति लागेको उल्लेख गर्दै न्यौपानेले एकताबद्ध पार्टी निर्माण गरी त्यस्ता शक्तिलाई परास्त गर्न लाग्नुपर्ने बताए । पार्टीका लुम्बिनी प्रदेश सह–इञ्चार्ज न्यौपानेले एमालेप्रतिको जनलहर देखेर विपक्षीहरु अतालिएको बताए ।
उनले जनताको इच्छा र आकांक्षा पूरा गर्न पार्टी कार्यकर्ताले जनताको भारी बोक्नु पर्ने बताउँदै मुलुकमा समृद्धि ल्याएर जनचाहाना पूरा गर्नुपर्ने धारणा राखे ।
गाउँगाउँमा कार्यकर्ताको बीचमा व्यापक बहस र छलफल चलाएर विकास निर्माणका लागि अगुवाई गर्नुपर्नेमा जोड दिदै न्यौपानेले भने, ‘हामीले जित्दा विकास निर्माणले पनि तीव्रता पाउँछ ।’
पार्टीका देवदह नगर कमिटी अध्यक्ष टिकाराम चापागाईंको अध्यक्षता, उपाध्यक्ष हिरा थापाको स्वागत तथा सचिव विष्णु अर्यालको सञ्चालनमा भएको बैठकमा पार्टीका क्षेत्रीय कमिटी संयोजक यज्ञ गैरेले केन्द्र, प्रदेश तथा जिल्लाका परिपत्र प्रस्तुत गरेका थिए । बैठकले नगर कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्नुका साथै सचिवालय गठन गरेको उपसचिव अजय रौनियारले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij