
बुधवार , पौष १४, २०७८
भैरहवा, १४ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले पार्टीको कामलाई सर्वोपरी ठानेर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टीको रोहिणी गाउँपालिका कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता विश्वकर्माले जनताको सुखदुःखमा सहभागी हुने, जनताको पिरमर्कालाई ध्यान दिने तथा उनीहरुको भावनालाई जितेर अघि बढने कार्यकर्ता पार्टीमा अब्बल ठहरिने बताए ।
उनले भने, ‘जनताको पक्षमा काम नगर्ने, आफूलाई मालिक ठान्ने प्रवृति भएकाहरु पार्टीको असली कार्यकर्ता बन्न सक्दैनन् ।’
पार्टीको विधि पद्दतिलाई शिरोपर गरी निरन्तर काममा खटिने कार्यकर्ताहरुले क्षमता अनुसारको जिम्मेवारी प्राप्त गर्ने बताउँदै उनले धैर्यतापुर्वक अघि बढदा निश्चित गन्तव्यमा पुग्न सकिने धारणा राखे ।
रोहिणी गाउपालिका कम्युनिष्टहरुको उर्वर क्षेत्र भएको उल्लेख गर्दै प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाटबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहेका विश्वकर्माले यसअघि कुनै दलले नगरेका विकासका कामहरु एमालेले अघि सारेको दावी गरे । उनले निर्वाचनको समयमा आफुहरुले उद्घोष गरेअनुसार विकासलाई दशगजा क्षेत्रबाट अघि सारेको बताउँदै भएका विकासका कामहरुका बारेमा कार्यकर्ताहरुले प्रचार अभियान चलाउनुपर्नेमा जोड दिए । पूर्वमन्त्री समेत रहेका विश्वकर्माले तीनै तहको निर्वाचन नजिकै आएकोले निर्वाचन केन्द्रित भएर पार्टी काममा लाग्न कार्यकर्ताहरुलाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज दधिराम न्यौपानेले मानव जातिको मुक्तिका खातिर कम्युनिष्ट पार्टीमा लागेकाहरुले देश र समाजका लागि क्रियाशिल हुनुपर्ने बताए ।
योग्य, ईमानदार र क्षमतावान कार्यकर्ताले मात्रै समाज र पार्टीको अगुवाई गर्न सक्ने भएकाले एमालेका नेता कार्यकर्ताले सोही बमोजिम अघि बढनुपर्नेमा जोड दिदै न्यौपानेले एमालेका कार्यकर्ताहरु उदाहरणीय छन् भन्ने सन्देश जनताको बीचमा प्रवाह गर्नुपर्ने बताए ।
न्यौपानेले एमाले पार्टी बलियो भए मात्रै विकासका कामहरुले तीव्रता पाउने भएकाले मजबुत र सुदृढ पार्टी निर्माण गर्न एकतावद्ध अभियान चलाउन जोड दिए ।
एमालेको अगुवाईमा सडक, शिक्षा, कृषि, सिंचाइ, तटबन्ध, स्वास्थ्य क्षेत्रमा भएका कामहरुलाई लिएर जनताको बीचमा जान सकिने बताउँदै उनले कुनै दलले गर्न नसकेका कामहरु आफुहरुले गरेको दावी गरे ।
पार्टीका रोहिणी गाउँ कमिटी अध्यक्ष सुनिल कौशलको अध्यक्षतामा भएको बैठकमा लुम्बिनी प्रदेश कमिटी सदस्य संजय गुप्ता, शैलेन्द्र उपाध्याय, जिल्ला सचिवालय सदस्य यज्ञ गैरे लगायतले बोलेका थिए । उपाध्यक्ष दिलिपमणि त्रिपाठीको स्वागत र सचिव भोला क्षेत्री ( राजाबाबु) को संचालनमा बैठक भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij