
बिहिवार , पौष १५, २०७८
काठमाडौं, १५ पुस ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस र सिंगो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाइएको हो । “राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै संगठनकातर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम गर्न गराउनका लागि नेपाल तरुण दल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
नेपाल तरुण दलले आफूले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नसमेत आग्रह गरेको छ । अध्यक्ष बस्नेतले आफूलाई पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्न देशभरका तरुण युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन् । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij