
शुक्रवार , पौष १६, २०७८
भैरहवा, १६ पुस ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले विपीको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै पार्टी त्यही नीतिअनुसार आवश्यकता अनुसार सबैसंग मेलमिलाप गर्दै आएको बताएका छन् । ४६ औ राष्ट्रिय एकता एवं मेलमिलाप दिवसरको अवसरमा शुक्रबार नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रज्जाकले एकता र मेलमिलाप पार्टी भित्र र बाहिर उत्तिकै महत्वपुर्ण र सान्दर्भिक रहेको औल्याए ।
कांग्रेस लोकतन्त्र र राष्ट्रियताको लागि सधै अडिक रहेको भन्दै लोकतन्त्र र राष्ट्रियता बलियो बनाउन आवश्यकता अनुसार अन्तरपार्टीसंग पनि मेलमेलापको नीति लिएर अगाडी बढेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चन्द्र केसीले कांग्रेस एकढिक्का भएको खण्डमा कांग्रेसलाई कसैले हराउन नसक्ने र कांग्रेस बलियो हुँदा लोकतन्त्र र राष्ट्रियता पनि बलियो हुने बताए ।
कांग्रेसको १४ औं महाधिवेशन भर्खर सम्पन्न भएको र यसलगत्तै तीन तहका निर्वाचनमा जानुपर्ने भएकोले आन्तरिक चुनावको प्रतिष्पर्धालाई स्वभाविक ठान्दै अबको ध्यान आगामी निर्वाचनमा केन्द्रीत गराउन जोड दिए ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले पार्टीभित्र सधै सहमति सहकार्यका साथ अगाडी बढ्ने प्रतिबद्धता जनाउँदै अन्य निर्वाचनमा जित हासिल गर्नको लागि आन्तरिक सानातिना समस्यामा अल्झिन नहुने बताए । उनले निर्वाचनमा जित हासिल गर्नको लागि पनि आन्तरिक रुपमा मेलमिलाप र एकता नै आजको प्रमुख आवश्यकता रहेकोमा जोड दिए ।
केन्द्रीय सदस्यसहित पत्रकारलाई सम्मान
यसैबीच १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कांग्रेस रुपन्देहीका निवर्तमान सभापति एवं पूर्व राज्यमन्त्री अब्दुल रज्जाकलाई कांग्रेस रुपन्देहीले सम्मान गरेको छ । त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचित चन्द्र केसीलाई पनि सम्मान गरिएको छ ।
गोरखापत्र राष्ट्रिय दैनिकको लुम्बिनी प्रदेश संयोजकमा नियुक्त भएका पत्रकार श्यामशंकर पाण्डेलाई पनि कांग्रेस रुपन्देहीले सम्मान गरेको छ । तीनै जनालाइ दोसल्ला ओढाएर सम्मान गर्दै सफल कार्यकालको लागि शुभकामना दिइएको छ ।
कांग्रेस जिल्ला सचिव हरि काफ्लेको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, पूर्व उपसभापति विजय शर्मा, क्षेत्रीय सभापतिहरु शुशिल गुरुङ, वसिउल्लाह मुसलवान, महाधिवेशन प्रतिनिधि बालकुमारी घिमीरे, जिल्ला सदस्य जे.वी. गुरुङ, क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थननगरका उपसभापति देवराज न्यौपाने लगायतले बोल्दै बिपीको योगदान र मेलमिलापको सान्र्दभिकताबारे चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij