२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

एमाले रुपन्देहीको जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गरिने

सोमवार , पौष १९, २०७८

बुटवल, १९ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको बैठक सोमबार बुटवलमा सम्पन्न भएको छ । बैठकले यही पुस २३ र २४ गते भैरहवामा हुने पार्टीको जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । अधिवेशनका लागि १ हजार ५३ जना प्रतिनिधि चयन भएको र बाँकी ५३ जना मनोनित गर्ने निर्णय गर्दै बैठकले सबै क्लष्टर मिलाएर मनोनित गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ । 

बैठकमा एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पुरुषोत्तम घिमिरेले आर्थिक प्रतिवेदन र सचिव जगेश्वरदेवी चौधरीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तीनवटै प्रतिवेदन बैठकले पारित गरेको प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । भैरहवाको गणतान्त्रिक सभाहलमा  हुने अधिवेशनलाई व्यवस्थित र प्रभावकारी ढंगले सम्पन्न गर्ने निर्णय बैठकले गरेको चापागाईंले बताए ।

बैठकलाई सम्बोधन गर्दै एमाले पोलिटव्यूरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सह–इन्चार्ज लिला गिरीले पार्टीको आगामी राजनीतिक कार्यदिशा, तीनै तहका निर्वाचनमा पार्टीको रणनीति लगायत समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।

त्यस्तै एमालेका केन्द्रीय सदस्य तथा रुपन्देहीका इञ्चार्ज भूमिश्वर ढकालले जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिने बताए । पार्टीलाई एकढिक्का बनाइराख्नका लागि सबैलाई समेट्ने गरी सर्वसम्मत नेतृत्व चयन गरिने उनले बताए । 

पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज दधिराम न्यौपाने, पोलिटव्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य सावित्रा अर्याल, गुमादेवी आचार्य लगायत नेताहरुको आतिथ्यतामा भएको बैठकले अधिवेशनको व्यवस्थापनका लागि १ सय जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।