२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला जनमत पार्टीमा प्रवेश

मंगलवार , आश्विन २७, २०७७

भैरहवा, २७ असोज ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले जनमत पार्टीमा प्रवेश गर्ने सहमति गरेका छन् । 
जनमत पार्टी रुपन्देहीले मंगलबार सम्मरीमाई गाउँपालिका–६ असुरैनामा आयोजना गरेको पार्टी प्रवेश सहमति कार्यक्रममा शुक्लासहित आदम अली देवान, अहमद अली शाह, अजय दुवेसहितका नेताहरुले पार्टीमा प्रवेश गर्न प्रतिवद्धता व्यक्त गरेका हुन् । 

हाल कोभिड–१९ का कारण सरकारबाट ठूलो सभा गर्न प्रतिबन्ध भएकोले पछि पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतसहितको सभा वा अन्य विकल्पमार्फत सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्लालाई सदस्यता ग्रहण गराइने जनमत पार्टी रुपन्देहीका जिल्ला संयोजक रामकेश गुप्ताले बताए । तर पार्टीमा प्रवेश गर्ने प्रतिबद्धता व्यक्त गरेका नेताहरुले असोज २७ गतेबाटै जनमत पार्टीको विधि विधान अनुरुप कार्य सञ्चालन गर्न पाउने गुप्ताले बताए । पार्टी सदस्यता ग्रहण गरेपछि शुक्लालाई केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिइने जनमत पार्टी रुपन्देहीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले जनमत पार्टीको विकल्प नभएको दावी गरे । उनले कांग्रेस, नेकपा, जसपा लगायतका पार्टी छोडेर जनमत पार्टीमा आउन आग्रह गरे । नेता खानले भने, ‘हामी भुमि तथा अधिकारको रक्षा गर्न चाहन्छौं, त्यसको लागि बलिदानी गर्न समेत तयार छौं, मन्त्री, सांसद बन्ने हाम्रो लक्ष्य छैन् । 

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले जनताको चाहनालाई मध्यनजर गर्दै जनमत पार्टी रोजेको बताए । उनले जनताको मत भन्दा अरु कुनै मत ठूलो हुने नसक्ने बताए । ‘जनतालाई अगाडी बढाउन र मर्चवारको सम्मान बढाउन जनमत पार्टीमा आएको छु, डा. सिके राउतको साथमा जितेन्द्रनाथ शुक्ला (बब्लु) आइसकेको छ, उनले भने ।’ 

त्यस्तै पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषले मधेशको हकहितको लागि सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जनमत पार्टीमा प्रवेश गर्ने सहमति गर्नु सराहनीय भएको बताए । उनले विगतमा उत्पीडित नागरिकलाई अधिकार दिन नखोजिएकोले जनमत पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।

जनमत पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र यादवले मधेशी जनताको हकहितको लागि आवाज उठाउने पार्टी जनमत नै रहेको बताए । डा. सिके राउत सबै सुखसुविधा त्यागेर मधेशको लागि अगाडी बढ्नुभएको छ, यादवले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्मरीमाई गाउँपालिका अध्यक्ष सहाबुद्दिन देवानले मधेशको उत्थान हुन्छ भन्ने लागेको बताए । जनमत पार्टी रुपन्देहीका सचिव शिवचरन केवटको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट गाउँपालिका अध्यक्षमा शुक्ला निर्वाचित भएका थिए । फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका उनीपछि नेकपा पनि परित्याग गरेका थिए । मंगलबार सम्मरीमाई शुक्ला जनमत पार्टीमा औपचारिक रुपमा पार्टी प्रवेश गर्ने सहमती गरेका छन । उनलाइ पार्टीका केन्द्रिय सदस्यहरु अब्दुल खाँ, भोपेन्द्र यादव र इरफान अहमद शेषले पार्टी प्रवेश गराउन सहमति गराएका थिए ।